सन्दीप टी–१० लिगमा छनोट, को को छन् उनका टिम मेट ?
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले व्यावसायिक करिअरमा एकपछि अर्को सफलता पाउने क्रम जारी छ । सन्दीप गत महिना मात्र अफगानिस्तान प्रिमियर लिगको नान्गहर टिममा आबद्ध भएका थिए । आइसिसी एसोसिएट नेसन्स क्याटागोरीमा रहेका सन्दीप १५ हजार डलरमा आबद्ध भएका थिए ।
सन्दीप सोमबार अर्को फेन्चाइज लिग टी–१० लिगमा आबद्ध हुन सफल भएका छन् । युएईको व्यासायिक लिग टी–१० लाई इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रियक क्रिकेट काउन्सिलले मान्यता दिएको छ । लिगमा रहेका ८ टिम मध्ये सन्दीपलाई केरला किंग्सले किनेको हो । केरलाले सन्दीपलाई ३० हजार अमेरिकी डलर (३४ लाख ८३ हजार रुपैयाँ) दिनेछ ।
सन्दीप आबद्ध टिममा इंग्ल्यान्डका इयान मोर्गान कप्तान छन् । जहाँ वेस्ट इन्डिजका क्रिस गेल, केइरन पोलार्डदेखि पाउल स्टर्लिङ, पाकिस्तानका जुनाइद खान र श्रीलंकाका निरोशन डिकवेला छन् । टी–१० लिग आगामी मंसिर ७ देखि १६ गतेसम्म शारजाह क्रिकेट मैदानमा हुनेछ ।
लिगमा केरलासहित माराथा अरेबियन्स, पाख्तून्स, पन्जाबी लिजेन्ड्स, कराचियन्स, बेङ्गाल टाइगर्स, नर्थन वारियर्स र राजपुतस् छन् । लिगमा १० ओभरको एक इनिङ हुने र खेल ९० मिनेटमा सकिने नियम छ । लिगको दोस्रो संस्करण हो ।
योसँगै सन्दीपले पाँचौ विदेशी फ्रेन्चाइज लिग खेल्ने भएका छन् । यसअघि सन्दीपले भारतको आइपिएल, क्यानडाको ग्लोबल टी-२० र वेस्ट इन्डिजको सिपिएल खेलेका थिए । अफगानिस्तान प्रिमियर लिग भने खेल्न बाँकी छ । सन्दीप बंगलादेशको बिपिएल र पाकिस्तानको सिएसएलको ड्राफ्टमा परेपनि छनोट हुन असफल भएका थिए ।
No comments:
Post a Comment